काठमाडौं- हरितालिका तिज पर्व आज हिन्दु महिलाहरुले हर्ष उल्लासका साथ मनाउँदै छन् । महादेवको पूजाआराधना गरी तिज मनाउने परम्परा छ । आज व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि, आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजाआराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।
अघिल्लो दिन राति दर खाएर आज तिजको दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्ने चलन छ । आज काठमाडौंको पशुपतिनाथ, खोटाङको हलेसी महादेवलगायत देशभरका शिव मन्दिरहरूमा व्रतालुहरूको भीड लाग्ने गर्दछ ।