काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन गरेर चुनाव लड्नु ठगीका लागि भएको बताएका छन् । पार्टीको उपत्यकास्तरीय भेलालाई शनिबार खुलामञ्चमा सम्बोधन गर्दै लामिछानेले विभिन्न टुक्रा-टुक्रा विभाजित पार्टीहरु एक भएर चुनाव लड्नु ठगीबाहेक केही नभएको बताएका हुन् ।
सत्तारुढ दलहरुको चुनावी गठबन्धनप्रति संकेत गर्दै लामिछानेले एक्ला एक्लै चुनाव लड्न चुनौती दिएका हुन् । आफूहरुले राजनीति गर्न नजानेको भन्ने टिप्पणीप्रति जवाफ दिँदै उनले भने, राजनीति सिक्दै गरौंला, यसपटक ती पुराना पार्टीहरुलाई जिताउन हुँदैन । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति नयाँ पुस्ताले जान्न र सिक्न नहुने समेत बताए । उनले बा पुस्ताका नेताहरुलाई आगामी चुनावमा नजिताउन समेत आग्रह गरे ।
लामिछानेले बालेन शाहलाई नायक चलचित्रको अनिल कपुर सँग तुलना गर्दै प्रशंशा गरेका छन् । । बालेनहरु डोजर लिएर मैदानमा आइसकेकाले अब पुराना बाहरुलाई विदा गर्नुपर्ने उनको भनाई छ ।
भाषणमा सिमित राजनीतिलाई डिजिटल माध्यमले बिस्थापन गर्ने आफ्नो लक्ष्य रहेको पनि प्रष्ट पारे । उपत्यका स्तरीय सभाको बन्दसत्रले समन्वय समिती पनि गठन गर्ने उनले जानकारी दिए ।
आफ्नो कर्मक्षेत्र रहेको नेपालका मुलधारका मिडियाहरुले आफूलाई सहयोग नगरेको उनको गुनासो व्यक्त गरे ।







