काठमाडौं – सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटको खाका बनाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। आज दिउँसो ४ बजे बालुवाटारमा बैठक बस्ने भएको हो। प्रायः हरेक दिन जस्तो बसेको बैठक र भएका छलफलहरुलाई हेर्दा सिट बाडफाडको खाका तयार गर्न गठबन्धनलाई निकै सकस हुने अडकल गरीएको छ ।
बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए।
त्यही दाबीअनुसार आज कार्यदलका सदस्यहरुको बीचमा थप छलफल गरेर टुंगो लगाउने तयारी छ। बिहीबारको बैठकमा कार्यदल सदस्यहरुले प्रत्यक्षका १६५ सिटमा दुई सय ३२ भन्दा बढी सिट दाबी गरेका थिए। कांग्रेसले १००, माओवादीको ६०, एकीकृत समाजवादीको ४०, जसपाको ३० तथा जनमोर्चाको दुई सिटमा दाबी थियो।
शुक्रवारको बैठकमा दलहरूबीच भएको दाबीमा थप छलफल हुने कार्यदल सदस्य तथा जनमोर्चाका नेताले जानकारी दिए।







