काठमाडाैं – ‘प्रकाश’को चर्चा सँगै ब्यापारमा पनि अब्बल अनुमान गरिएकाे छ। प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शकमाझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन् । निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ । किनकि उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन् ।
उनले यसपटक क्यारेक्टरलाई एडप्ट गर्न निकै मेहनत गरेका छन् । अफर भएका केही फिल्म छाडेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै कलाकार बन्ने प्रयास गरेका छन् । यो सब उनलाई कथावस्तुले दिएको आकर्षण हो ।
निर्देशक राउतलाई प्रदीपप्रति भरोसा थियो । त्यसैले उनले प्रदीपलाई स्टारडमको छायाँभन्दा बाहिर निकालेर प्रकाश बनाउने प्रण गरे ।प्रदीपले प्रकाश बन्न अभिनय सिके, अडिसन दिए, जुम्लाको भाषा सिके । एउटा स्टारले क्यारेक्टर एडप्ट गर्न गरेको यस्तो मेहनतले निर्देशकलाई विश्वस्त नबनाउने कुरै भएन । त्यसैले प्रदीपलाई ‘प्रकाश’ बनाउने तयारीमा टिम लाग्यो ।
फिल्ममा उनले जिउने मौका पाएको ‘प्रकाश’ निकै फरक छ । माओवादी द्वन्द्वमा आफ्नो पितालाई गुमाएपछि शिक्षित हुँदाहुँदै पनि शिक्षक बन्न संघर्ष गर्ने पात्र हो प्रकाश । सिस्टमविरुद्ध विद्रोहको प्रतीकको रूपमा देखाइएको प्रकाश जनआन्दोलनले दिएको उपलब्धिलाई महसुस गर्नसकेको छैन ।
शिक्षक बन्दा सबैले इज्जत गर्ने भएपछि उनले शिक्षक बन्ने अठोट गर्छन् । आफ्नो अभिभावक सिस्टम फेर्नका निमित गुमाएका प्रकाशले सिस्टम, समाज र आफैँसँग लड्ने लडाइँ नै फिल्मको कथासार हो । ‘हामीले चाहेको परिवर्तन आइसकेको छ त ? त्यसलाई आमजनताले महसुस गरेका छन् त ? यी यस्तै प्रश्न प्रकाशमार्फत देखाइएको छ,’ प्रदीपले भने ।
भौगोलिक हिसाबमा कर्णालीको जुम्लाको सेटअपमा कथा भनिए पनि सिस्टमविरुद्ध गर्ने संघर्ष सबैतिर उस्तै रहेको बुझाई उनको छ । ‘हामीले हिजो गरेको संघर्षले उपलब्धि नदिँदा फेरि अर्को संघर्ष हुन सक्छ । विद्रोहको बिम्ब पनि हो प्रकाश । किनकि उसले देशको नागरिकलाई संविधानले दिएको अधिकारलाई उपयोग गर्न पाएको छैन,’ प्रदीपले भने । जुम्लामा झन्डै दुई महिना बिताएका प्रदीपले त्यहाँको जीवनलाई महसुस गरेका छन् । छायांकनकै समयमा उनी स्थानीयको घरमा समेत बसे । सँगै खान खाए । यसले उनलाई घुलमिल हुन मद्दत गर्यो । ‘मैले स्थानीयसँग सामीप्यता गाँस्दा क्यारेक्टरलाई जीवन्त बनाउन मदत गर्यो । म प्रकाशमा प्रदीप खड्काको बिम्ब नदेखियोस भन्ने चाहन्थे ।







