काठमाडौं- नेकपा माओवादी केन्द्रलाई पदाधिकारीको टुंगो लगाउन निकै सकस भएको छ । शुक्रबार केन्द्रीय पदाधिकारीको टुंगो लगाउनेगरी स्थायी समितिको बैठक बोलाइएको थियो । तर शुक्रबारको बैठकमा पनि पदाधिकारीको विषय टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
बैठकमा पदाधिकारी र कार्यक्रमबारे गम्भीर रूपले छलफल भएको र शनिबार पुनः बैठक बस्ने उनले बताए । उनले भने, आजको स्थायी समिति बैठकमा पदाधिकारी र कार्यक्रमका बारेमा गम्भीर रूपले छलफल गर्यौँ । पदाधिकारीमा टुंगो भने लागेको छैन । सबै विषयमा छलफल भएको छ । शनिबार दिउँसो १ बजे पुनः बैठक बोलाइएको छ ।अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले बैठक छोट्याइएको पनि उनले बताए । पार्टी महाधिवेशन सकिएको आठ महिनासम्म पनि माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकेको छैन ।
गत पुसमा आठौं महाधिवेशन भएलगत्तै बसेको पहिलो केन्द्रीय समिति वैठकबाट दाहाल अध्यक्षमा चयन भएका थिए । उनले गत असारमा नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष र तेस्रो वरीयताको उपाध्यक्षमा कृष्णबहादुर महरालाई अघि सारेका थिए । बाँकी पदाधिकारी टुंग्याउन बाँकी छ ।
दाहालले विवाद निम्तिने जोखिमका कारण पदाधिकारी चयनलाई टार्दै आएका थिए । खास गरेर महासचिवमा अर्थमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुनले एक–अर्कालाई स्वीकार गर्न नसकेपछि दाहालले तेस्रो विकल्पमा प्रवेश गरेर नेताहरू ‘व्यवस्थापन’ गर्न चाहेका हुन् । दाहालले शर्मा र पुनको विकल्पका रूपमा देव गुरुङ वा हरिबोल गजुरेलमध्ये एकलाई महासचिव बनाउने तयारी गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठलगायतका केही नेताको जोड पुन वा गिरिराजमणि पोखरेलमा सहमति नहुँदा अहिले चौथो वरीयतामा रहेका देव गुरुङलाई महासचिव बनाउनेमा छ । यसअघि पार्टीको कोषाध्यक्ष भएका गजुरेलले पनि महासचिवमा दाबी गरेका छन् । महासचिवमा पम्फा भुसाल र शक्ति बस्नेतको पनि दाबी छ । तर, दाहालले यीमध्ये कसलाई महासचिव बनाउँछन् भन्ने यकिन नभएको नेताहरूको भनाइ छ ।







