काठमाडौं- पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न गठित महाअभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले छानबिनका लागि कार्यविधि र कार्यतालिका बनाउने निर्णय गरेको हो।
अर्को बैठकमा कार्यविधि र कार्यतालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।
बैठकमा समिति सदस्यहरूले महाअभियोग प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउनुपर्ने धारणा राखेका थिए । नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले एक महिनाभित्रमा नै टुंगोमा पुग्ने गरी काम गर्नुपर्ने बताए । समिति सदस्य उनले महाअभियोगका विषयमा एमाले तटस्थ रहेको उल्लेख गरे ।
यस्तै, नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव र अरू दस्तावेजमाथि अध्ययन गरेर छलफललाई तीव्रता दिनुपर्ने धारणा राखे । उनले एक महिनापछि निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले छिटो काम सक्ने गरी कार्यविधि बनाउनुपर्ने बताए ।
नेकपा (माओवादी केन्द्र)का सांसद यशोदा गुरुङ सुवेदीले समितिमा कुनै विवाद नगरी समयमा नै निष्पक्ष छानबिन गर्नुपर्ने बताइन् ।
प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको ६ महिनापछि समितिले काम सुरु गरेको हो । गएको साउन २२ गते बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्धको महाअभियोगलाई सिफारिस समितिमा पठाएको थियो ।







