काठमाण्डाै – फोहोर बञ्चरेडाँडामा फाल्नका लागि दुई सय प्रहरी परिचालन गरिएको छ।
फोहोर खसाल्न अवरोध नहोस् भनेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिए। उनका अनुसार सोमबार बिहान फोहोर फाल्ने क्रममा स्थानीयले अवरोध गरेका थिए।

फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने काम चलिरहेको छ ।
काठमाण्डौबाट गएका र नुवाकोटकै गरी दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मीले अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सुरक्षा दिइरहेका छन् । अहिलेसम्म ५५ वटा गाडीभन्दा धेरै फोहर फालिएको नुवाकोट प्रहरीले जनाएको छ । दिउँसो स्थानीयवासीकाे अवरोध खुलाउन पुगेका प्रहरी र उनीहरूबीच सामान्य झडपसेमत भएको थियो ।
काठमाण्डाै महानगरले आज दुई सय वटाभन्दा धेरै गाडी फोहर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा अहिलेसम्म ५५ वटाभन्दा धेरै गाडीको फोहर झारिएको छ । बाँकी फोहोर पनि फाल्ने काम चलिरहेको छ । काठमाण्डौ महानगरपालिकाले आज नेपाल टिपर व्यवसायी सङ्घसँग डिजल र चालक भत्ता दिने गरी दुई सय वटाभन्दा धेरै टिपर भाडामा लिएर बञ्चरेडाँडामा फोहर पठाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । अवरोधका कारण भाडाका टिपरले पनि दिउँसो फोहोर फाल्न पाएका थिएनन् । अहिले सुरक्षाकर्मीको सहायतामा फोहर फाल्ने काम भइरहेको उहाँले बताउनुभयो ।
स्थानीय सङ्घर्ष समितिले सरकारसँग सहमति गरेर आन्दोलन फिर्ता लिइसकेको भए पनि आज फेरि केही स्थानीयवासीले फोहर फाल्न अवरोध गरेका हुन् । स्थानीयवासीको आन्दोलनमा सबैजसो दलले पनि साथ दिएका छन् ।







