काठमाडौं– नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ । बैठकले हाल १८९ सदस्यीय केन्द्रीय समिती बनाएको छ ।
त्यस्तै अन्य पदाधिकारीहरुमा सह अध्यक्षसहित तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठलाई बनाएको छ । उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादव चयन भएका छन् ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमशः प्रदेश १ मा राजेन्द्रकुमार किराती, मधेश प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ ।







