उदयपुर – झन्डै दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसी आज बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षात्सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो ।
विशेष गरेर डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको स्थानीयले बताए । कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती खतरामा परेका छन् ।
अहिले कोसीको मूल बहाव नै क्रमशः पश्चिम धकेलिँदै गरेको त्यहाँ रहेका बेलका नगरपालिका-३ का वडासदस्य फाल्गुणी कार्कीले बताए । कोसी मानववस्तीतर्फ छिरिसकेको कार्कीले बताए ।
अहिले कटान गरिहेको डुम्रिबोटे क्षेत्र रोक्न गरिएका सबै खाले प्रयास असफल भएको नगरप्रमुख कार्कीले बताए । त्यसैले जोखिम क्षेत्रका सर्वसाधारणलाई घर छाडेर सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनले बताए ।
कार्कीका अनुसार डुम्रिबोटेमा कटान भएका कोसी पुरानै धार हुँदै बग्ने निश्चित छ । २०४५ सालअघि कोसी ७ नम्वर नोच दक्षिण डुम्रिबोटे हुँदै बग्ने गरेको सर्वसाधण बताउछन् ।








