काठमाण्डौं– चर्चित पपस्टार सकिरालाई कर छलीको आरोप लागेको छ । सन् २०१२ देखि २०१४ सम्म सकिराले आम्दानी गरेको रकममध्ये १४.५ मिलियन युरो कर छली गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको छ। बार्सिलोनाका अभियोजनकर्ताले सकिरालाई आठ वर्षको जेल सजाय र २४ मिलियन युरो क्षतिपूर्ति गर्नुपर्ने माग गरेका छन्।
सकिराको कर छलीको मुद्दालाई अदालतले खारेज गरेपछि अभियोजनकर्ताले आठ वर्ष जेल सजाय र २४ मिलियन युरो क्षतिपूर्तिको माग गर्दै पुनः मुद्दा दायर गरेका हुन्। सकिराको पक्षले उनी निर्दोष रहेको र उनले कमाएको रकमको नियमानुसार कर तिरेको दाबी गरेका छन्। यस कुरामा सकिरा पनि पूर्णविश्वस्त रहेकि छिन । सकिराका प्रतिनिधिले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, उनी निर्दोष रहेकाले उनले पनि अदालतमा मुद्दा दायर गर्ने बताएका छन्।
स्पेनमा रहँदा सकिराको ६० मिलियन एल्बम बिक्री भएको थियो। त्यो एल्बमको बिक्रीबाट उठेको रकमको कर उनले नतिरेको आरोप लगाइएको छ। अभियोजनकर्ताका अनुसार सन् २०१२ मा सकिराले बार्सिलोनामा घर किनेकी थिइन्। जुन घरमा उनीसँगै उनका पति तथा बार्सिलोनाका फुटबल स्टार जेरार्ड पिक पनि बस्ने गर्थे। अहिले सकिराले जेरार्ड पिकसँग सम्बन्ध बिच्छेद गरिसकेकी छन्।
–एजेन्सीकाे सहयाेगमा







