काठमाण्डौं – सामाजिक सुरक्षा कोषले सापटी योजना कार्यान्वयनमा ल्याउने भएको छ । भदौ १ गतेदेखि चार किसिमका योजना लागुहुनेगरी कोषले तयारी गरेको छ । कोषमा आवद्ध भएको ३६ महिना पुगेको योगदानकर्तालाई सापटी योजनामा सहभागी गराउन लागिएको हो ।
कोषले योगदानकर्ताको लागि घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो । सापटी योजनामा आवद्ध हुनकालागि योगदानकर्ताले नियमित ३६ महिनासम्म योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।
कोषले योगदानकर्ता घर सापटी योजनामा नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न सापटी प्रदान गर्नेछ । यस्तो सापटी अधिकतम ७५ लाख रूपैयाँसम्म लिन पाइने छ । तर, योगदानकर्ताको १५ वर्षको तलब र ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब पनि हिसाब गरेर सापटी उपलब्ध गराइने योगदानकर्ता सापटी शाखाका प्रशासकीय अधिकृत डीबी सुन्दर पराजुलीले जानकारी दिए । यस्तो सापटी लिनको लागि जग्गा धितो राख्नुपर्ने हुन्छ । सापटी लिएको २० वर्षभित्र चुक्ता गुर्नपर्ने छ ।
त्यसैगरी योगदानकर्ता शैक्षिक सापटीअन्तर्गत योगदानकर्ता, निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनकालागि शैक्षिक सापटी प्रदान गरिने छ ।
यस्तो सापटीमा ३५ लाखसम्म पाइने छ । तर, सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च हिसाब गरी सापटीका लागि आवेदन दिनु पर्ने छ ।
जसमा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, आवस खर्च, शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च र ट्राभल तथा बीमा खर्च समावेस गर्नुपर्ने छ । यस्तो सापटी लिएको १५ वर्षभित्र चुक्ता गर्नुपर्ने छ । सापटी लिनका लागि धितो अनिवार्य रहेको छ ।
सामाजिक कार्य सापटीअन्तर्गत पाँच लाखसम्म सापटी लिन पाइनेछ । योगदानकर्ताले आफू वा एकाघर वा सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि अन्य कोषबाट लिएको सामाजिक कार्य सापटी स्वाप गरी कोषबाट सामाजिक कार्य सापटी प्रदान गर्ने बताइएको छ ।







