काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेले र अझै फैलन सक्ने खतरालाई मध्यनजर गर्दै स्वास्थ्यआपतकाल घोषणा गरिएको जनाएका छन् ।
डब्लुएचओका अनुसार विश्वभर मंकीपक्सका कारण हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ।
डा टेड्रोसले भने– ‘यो प्रकोप विश्वभर द्रुतगतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ ।’
उनका अनुसार संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी रहेको बताए । त्यसका लागि डब्लुएचओले आवश्यक तयारी र पहल गरिरहेको उनको भनाइ छ ।
बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ ।
खासगरी हात र गोडाका पैतालामा बिमिराहरू बढी देखिन्छ । केही दिन निकै चिलाउने वा दुख्ने भए पनि बिमिराहरू बिस्तारै हराउँछन् । तर बिमिरा आएका ठाउँमा दाग भने रहिरहन सक्छ । यसको संक्रमण भएका दसमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ ।







