काठमाण्डौं – अभिनेत्री पूजा शर्माद्वारा अभिनित चलचित्र ‘सम्झना बिर्सना’ टिम उनीप्रति असन्तुष्ट देखिएको छ ।
शर्माले प्रचारमा पर्याप्त समय नदिएको, फिल्म प्रदर्शनको मुखमा प्रचार छाडेर म्यूजिक भिडियोमा काम गरेको, बिना जानकारी अष्ट्रेलिया उडेको, फिल्म रिलिजको समयमा अनेक विवाद निकालेको गुनासो निर्माता तथा निर्देशकको रहेको छ । निर्देशक निमेष प्रधानले पूजा शर्माको व्यवहारबाट आफू र निर्माता दुःखी भएको बताएका छन् ।
फिल्म रिलिज अगाडि मोफसलमा पनि प्रचार गर्ने तयारी गरेको भएपनि उनले समय नदिएको गुनासो निमार्ण पक्षको रहेको छ ।
निर्देशक प्रधानले दुखेसो व्यक्त गर्दै भने ’सबै फिल्म चल्छ भन्ने पनि छैन । तर, कलाकारको सपोर्ट पाएर नचल्नु र सपोर्टनै नपाएर नचल्नुमा ठूलो फरक हुन्छ ।’
‘सम्झना बिर्सना’मा शर्मालाई २० लाख पारिश्रमिकामा अनुबन्ध गरीएको प्रधानले खुलासा गरे । पूजाको स्टारडम होला भन्ने आधारमा पनि यति मोटो रकम दिन तयार भएको उनको भनाई छ , तर अन्तिम चरणमा उनले गरेको व्यवहारमा निमार्ण टिम निरास बनेको छ ।
अष्टनारायण हलमा चलचित्र हेर्न आएका दर्शकले पूजाको अभिनयमा कम्प्लेन गरेपछि उनी दर्शक संगनै झोक्किनाले चलचित्रको व्यापारमा असर परेको अपेक्षा अनुसारको चर्चा बटुल्न नसकेको निर्माण टिमले बताएको छ ।







