काठमाडाैं – काठमाडौं महानगरपालिकाले भोली साउन एक गतेदेखि कार्यान्वयनमा ल्याउने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।
कामपा बातावरण विभागले शुक्रबार एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ ।
तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।
पटकपटकको सूचनालाई बेवास्ता गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिमानासमेत गर्ने जनाइएको छ ।








