काठमाण्डौं- प्रतिनिधिसभाको रिक्त उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।निर्वाचनमा उपसभामुख पदकालागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई बीच प्रतिष्पर्धा हुनेछ ।
आजको प्रतिनिधि सभाको दिउँसो ३ बजे बस्ने दोस्रो बैठकमा सांसद देवप्रसाद गुरुङले कांग्रेसकी भुसाललाई निर्वाचित गराउन प्रस्ताव प्रस्तुत गर्नेछन् र सो प्रस्तावमा सांसद लक्ष्मीकुमारी चौधरीले समर्थन जनाउनेछिन् ।
यस्तै एमालेको तर्फबाट भट्टराईलाई निर्वाचित गराउन शान्ता चौधरीले प्रस्ताव गर्नेछिन् भने कृष्णभक्त पोखरेलले समर्थन जनाउने सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभा बैठकमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि मतविभाजनमा गएर चुनाव हुनेछ ।
प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत रहेकोले कांग्रेसकी भुसाल उपसभामुख बन्ने निश्चित जस्तै छ । प्रतिनिधिसभामा एमालेका ९७ सांसद छन् । एमाले उम्मेदवारको पक्षमा नेमकिपाका एक सांसद प्रेम सुवाल मात्र छन् ।
उपसभामुख दाबी गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समेत सत्ता गठबन्धनतर्फ ढल्किने संकेत गरेको छ ।
गठबन्धनको पक्षमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५० (स्वतन्त्र छक्कबहादुर लामासहित), नेकपा एकीकृतका २४ (सोम पाण्डेसहित) तथा जसपाका २१ सांसद छन् ।
१३ सांसद रहेको लोसपाले समेत कांग्रेस उम्मेद्वारलाई समर्थन गर्ने सम्भावना छ ।
तत्कालीन नेकपाको एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्ने स्थिति आएपछि २०७६ साल माघ ६ गते मा डा.शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराएपछि पद रिक्त थियो ।







