काठमाडौं – नेपाली कथानक चलचित्र ‘दोख’ आजबाट प्रदर्शनमा आएको छ । अनुप बरालले निर्देशन गरेको चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो ।
राजन कठेतले लेखेको कथामा निर्माण भएको फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगरलगायतको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले थापा छन् । भोजपुर क्षेत्रमा छायांकन भएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्र डि. कार्कीले छायांकन छ । चलचित्र तत्कालीन सरकार–माओवादी जनयुद्धको पृष्ठभूमीमा रहेर विभिन्न कथा भन्ने सिनेमा हो ।
अनुप बरालले निर्देशन र अभिनय गरेका फिल्म हुन् वा नाटक, त्यसप्रति अपेक्षा उच्च हुने गर्छ । ‘दोख’लाई लिएर पनि अपेक्षा ठूलो छ । उनलाई न गल्ती गर्न छुट छ न औसत हुन अनुमति । निर्देशक बराल पनि आफूले गरेका कामप्रति अपेक्षा ठूलो हुने गरेको कुरा स्वीकार गर्छन् । त्यसैले आफूलाई छोएको कन्टेन्टले अरुलाई पनि छुन सक्छ भन्ने विश्वासमा काम गर्ने गरेको उनको भनाई छ । पहिलो फिल्म ‘फिटकिरी’भन्दा आफूले ‘दोख’ राम्रो बनाएको पनि उनी दाबी गर्छन् ।







