काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको पुनः मतदान हुँदैछ । वैशाख ३० को निर्वाचन निष्पक्ष नभएपछि आज पुनः मतदान हुने भएको हो ।
यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।
पुनः मतदानका लागि पालिकाभर १ हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन् । पालिकाका १० वटै मतदान स्थलमा सेनासहित चारवटै सुरक्षा निकायका गरी करिब एक सयको हाराहारीको दरले सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।
निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहान ७ बजेदेखि मतदान हुनेछ । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।







