काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति प्रस्तावको तयारी गरेको छ । आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।
आयोगले तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको हो । “ कार्तिक ३०, मंसिर २ र मंसिर ५ गतेमध्ये एक मिति प्रस्ताव गर्ने तयारी गरेका छौं । तर, मंसिर ३ शनिबार पनि पर्ने भएकाले २ गते गर्दा उपयुक्त हुने निष्कर्षमा पुगेका छौं,” आयोग स्रोतले भन्यो ।
आयोगले एकै चरणमा गर्नुपर्ने सुझाव दिने भएको छ । निर्वाचन खर्च कम हुने भएकाले एकै चरणमा गर्न सुझाव दिने भएको हो ।
“चुनाव दुईचरणमा गर्दा नै हामीलाई त सहज हो । १० दिनको ग्याप राख्दा पछिल्लो मतपत्र छाप्न झन्झट हुँदैनथ्यो । तर, खर्चका हिसाबले एकैचरणमा गर्नुपर्छ । चुनाव एकैचरणमा हुन्छ,” एक आयुक्तले भने ।
आयोगले चुनावी खर्च ९ अर्ब लाग्ने अनुमान पनि गरेको छ ।







