काठमाडौं – नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा एकपछि अर्को गर्दै भारतका चर्चित कलाकारहरूको प्रवेश हुनेक्रम जारी छ ।
अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको चलचित्रमा नीतासँगै अभिनेता हरिहर अधिकारी मुख्य भूमिकामा रहनेछन् ।
चलचित्रमा हालै चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानंदम अनुबन्ध भएको खबर सार्वजनिक भएको छ । चन्द्र पन्तको निर्देशनमा बन्ने यस नेपाली चलचित्रको प्रस्ताव ब्रह्मानंदम ले स्वीकारेका छन् । उनलाई सबै कलाकारको दाँजोमा सर्वाधिक महँगो पारिश्रमिकमा फिल्ममा अनुबन्ध गराएको निर्माण टिमले बताएको छ । निर्देशक पन्तले ब्रह्मानंदम सँग भेटेर उनीसँग सम्झौता गरेका छन् ।
यसअघि यो चलचित्रमा चर्चित भारतीय कलाकार (पुष्पाका ‘सिनुभाई’) सुनिल वर्मा, गजिनीका भिलेन प्रदीपराज रावत, दक्षिण भारतका चर्चित कमेडी कलाकार ‘अली’ समेत अनुबन्धित भइसकेका छन् । ‘ह्रस्व दीर्घ’लाई बलिउड सिनेमाटोग्राफर कवीरलालले खिच्ने पक्का भइसकेको छ ।
नेपाल र भारतमा छायांकन हुने ‘ह्रस्व दीर्घ’ मा धनन्जय घलानी कास्टिङ डाइरेक्टर छन् । नेपाली कलाकारहरूमा सरोज खनाल र सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् । स्किृप्ट लक भएसँगै यतिबेला प्रि–प्रोडक्सनको काम चलिरहेको छ । चलचित्र दशैँ पछाडि असोज महिनाबाट फ्लोरमा जाने बताइएको छ ।







