काठमाण्डौं- नेकपा एमालेका सांसद् भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति अनुत्तरदायी भएको भन्दै आपत्ति जनाएका छन् । आइतबार जारी अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद रावलले प्रधानमन्त्री देउवाप्रति आपत्ति जनाएका हुन् ।
संसदीय समितिको बैठकमा आउँछु भनेर बिनाकारण नआउनु खेदजनक भएको भन्दै उनले यसमाथि समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन् । ‘प्रधानमन्त्री संसद्प्रति अनुत्तरदायी हुनुभयो । प्रधानमन्त्रीले संसदीय समितिमा आउँछु भनेर अकारण सचिवालयमार्फत आउँदिन भन्नु खेदजनक हो । समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ‚’ उनले भने ।
बैठकमा उनले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर गर्दा लोकतन्त्रको रक्षा गर्ने र संसदीय मूल्य मान्यता मान्ने आश्वासन दिए पनि उक्त कुरा कार्यान्वयन नभएको उनले बताए । एसपीपीको विषयमा बोल्दै सांसद रावलले भने‚ ‘एसपीपीबाट बाहिरिने पत्र आजसम्म लेखिसक्नुपर्ने हो; लेखिएन । अब संसदीय समितिले सरकारलाई एसपीपीमा नरहने कुरा उल्लेख गरेर पत्र लेख्न निर्देशन दिनुपर्छ ।’







