काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले सेयर बजारका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले बजारको तरलता अभावले सेयर बजारमा आउने संकुचन स्वाभाविक भए पनि नेपाल राष्ट्र बैंकको कर्जा संकुचनका कारण यस्तो अवस्था आएको भए त्यो स्वाभाविक मान्न नसकिने बताए ।
“विश्वव्यापी रूपमा सेयर बजारलाई अर्थतन्त्रको परिसूचकका रूपमा हेरिने गरेको छ । सेयर बजारको स्थायित्व र सवलताले लगानीकर्ताको मात्र नभएर समग्र अर्थतन्त्रको सूचकांक देखाउँछ,” थापाले भने, “लामो समयदेखि नेपालको सेयर बजार अस्थिर रहेको छ । ०७८ भदौ २८ गते ३१९८ को उच्चतम विन्दुमा पुगेको नेम्से हिजो १९९९ मा झरेको छ । यस्तो घटनाले सेयर बजारको विश्वसनीयतामा नकारात्मक प्रभाव पर्ने नै भयो । योसँगै धेरै साना लगानीकर्तालाई नराम्रो प्रभाव पारेको छ ।”उनले सेयर बजारमा लगानी गरेका थुपै मानिस आफूकहाँ आइरहेको भन्दै उनीहरूको समस्या सम्बोधन राज्यको दायित्व भएको बताए ।
“सभामुख महोदय, प्रत्येक दिन मकहाँ १० देखि १५ जना मानिस आइरहेका छन् । काठमाडौंका मात्र होइन, साना–साना सहरका मानिस पनि आइरहेका छन् । दुःख गरेर दुई पैसा जम्मा गरेका आममानिस कोही झुन्डिएर मर्छु भन्दै छन्, कोही म सडकमा आइपुगेँ भनिरहेका छन्,” थापाले भने, “सामान्य अवस्थामा सेयर बजार तलमाथि हुन्छ, यो लगानीकर्ताले बुझ्नु पनि पर्छ । तर, अस्थिर नीतिका कारण बजारको ह्रासले अहिले विद्यमान र सम्भाव्य सबै लगानीलाई निरुत्साहित गरिरहेको छ ।”
उनले बजारमा तरलता अभावले समस्या आएको नभई राष्ट्र बैंकको नीतिका कारण समस्या आएको विषय जानकारहरूले उठाइरहेको पनि उल्लेख गरे । “बजारमा रहेको तरलता अभावले सेयर बजारमा आउने संकुचन स्वाभाविक हो । तर, राष्ट्र बैंकले लिएको सेयर बजारमा कर्जा संकुचन गर्ने नीतिका कारण यस्तो अवस्था आयो भनेर जुन कुरा हामी पढिरहेका छौँ, यसका बारेमा ध्यानाकृष्ट हुनैपर्छ, चाहे कारण जेसुकै होस्,” थापाले भने, “सेयर बजारको स्थायित्व र विश्वसनीयता कायम गर्न अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र राष्ट्र बैंकजस्ता नियमनकारी निकायले के कस्ता काम गरिरहेका छन् ? साना लगानीकर्ताहरूको सुरक्षाका निम्ति के कस्ता काम भइरहेका छन् ? यसका विषयमा सदनलाई जानकारी गराइयोस् ।”
उनले राष्ट्र बैंक वा अरू कसैले संकुचन गर्ने नीति लिएको भए ठिक नभएको पनि संकेत गरे । निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत धितोपत्र बजारमा ल्याएर अर्थतन्त्र फराकिलो बनाउने बेलामा धितोपत्र बजारमा यति ठूलो संकट आउनु सकारात्मक नभएको र धितोपत्र बोर्डका नीति स्थिर र विश्वसनीय हुनुपर्ने थापाको भनाइ थियो । “अन्त्यमा हामीले साना लगानीकर्तालाई भन्न सकिएला कि हामीलाई सोधेर लगानी गरेका हौ र भनेर, तर साना लगानीकर्ता आममानिस हुन् । उनीहरूलाई हिजो हामीले यसको जोखिमका विषयमा सूचित नगरेका हौँ र आजको अवस्था आएको हो । त्यसैले कहीँ न कहीँ हाम्रो पनि जिम्मेवारी छ,” थापाले भने, “सेयर बजारलाई ठिक ठाउँमा पुर्याउनैपर्छ । तर, अहिले ४० लाख मानिस सडकमा आउँदा हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।”







