काठमाण्डाैं – युवा बाम बहस समूहले बामपन्थी एकताको लागि अभियान सुरू गर्ने भएको छ। सो समूहले काठमाडौंमा आगामी असार १ गते ‘आजको बाम आन्दोलन र अबको बाटो विषयक’ बहस कार्यक्रम गर्ने भएको हो।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल प्रमुख वक्ता हुँदैछन्। त्यस्तै एमाले केन्द्रीय सदस्य टंक कार्की र लेखक तथा वाम वुद्धिजिवी मिना पौडेललगायतले सम्बोधन गर्दैछन्।
नेपालमा बामपन्थी विचार राख्ने दलहरू एक ठाउँमा हुन जरूरी रहेको ठानेर आफूहरूले बहस सुरू गर्न लागिएको युवा वाम बहस समूहका संयोजक सुनिल पौडेलले सेतोपाटीलाई जानकारी दिए।
‘यति धेरै वाम विचार भएका दलको पसल बन्द गर्न जरूरी छ। वामपन्थी दल विभाजन हुँदा परिवर्तनकारी शक्तिले चुनाव हार्ने देखिएको छ’, पौडेलले भने, ‘अहिले हामीले काठमाडौंमा रहेका केही युवा विद्यार्थीसँग बहस गर्न लागेका हौ। फुटकर रूरुपमा पहिले पनि गरेका थियौं। अब यसलाई देशब्यापी बनाउँछौं।’
भुसालले यसअघि पनि धेरैपटक सार्वजनिक रूपमै वामपन्थी एकताको अपरिहार्य रहेको बताउँदै आएका छन्। उनले स्थानीय तहको निर्वाचन अघि पनि बामपन्थी दल एक ठाउँमा नभए उनीहरूले चुनाव हार्ने र त्यसको फाइदा नेपाली कांग्रेसलाई हुने बताएका थिए।
चुनावपछि उनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्व शैलीमाथि प्रश्नसमेत उठाएका थिए। २०६४ सालमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपालले निर्वाचनमा प्रतिकुल परिणाम आएपछि राजीनामा दिएको प्रसंग समेत भुसालले स्मरण गराएका थिए।
त्यसकै आधारमा भुसाललाई एमालेको अनुशासन आयोगले स्पष्टिकरणको लागि सिफारिस समेत गरेको छ।







