काठमाडौं – संगठित मानव तस्करको भर परेर अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ जना नेपाली मोरक्कोको कासाब्लांकाबाट डिपोर्टमा परेका छन् । डिपोर्टमा परेमध्येका एक नेपालीले एकैपटक धेरै संख्यामा नेपाली देखिएपछि अध्यागमनले शंका लागेर अनुसन्धान थालेपछि डिपोर्टको निर्णय भएको सुनाए ।
स्रोतका अनुसार पछिल्लो समय अवैध रूपमा अमेरिका लैजाने नयाँ रुटका रूपमा दुबईबाट मोरक्कोको कासाब्लांका पुर्याउने र त्यहाँबाट बोलिभिया वा ब्राजिल छिराउने काम भइरहेको छ । कोरोना संक्रमणको तेस्रो लहर रोकिएपछि यो रुट हुँदै केही नेपाली अघि बढेपछि संगठित मानव तस्करका एजेन्टहरूले यो रुटको प्रयोग बढाएका थिए । डिपोर्टमा परेका नेपालीहरु कसरी त्यहाँ पुगे भन्नेमा स्पष्ट विवरण आइसकेको छैन ।
यतिका धेरै नेपाली एकैचोटि कसरी त्यहाँ पुगे भन्ने खुलिसकेका छैन् तर भिजिट भिसामा दुबई आएका नेपाली रहेको जानकारीमा आएको छ । सरकारले भिजिट भिसामा दुबई जानेमाथि कडाइ गरिरहेका बेला ती नेपाली कसरी दुबई पुगे भन्ने शंकास्पद देखिएको छ ।
यसअघि पनि नेपालीहरू अवैध रूपमा अमेरिका जाने भन्दै काठमाडौंबाट दिल्ली–इन्डोनेसिया हुँदै इथोपिया पुगेर अलपत्र भएका वा काठमाडौंबाट भियतनाम, इथोपिया, माडागास्कर, जोर्डन, दुबई, अजरबैजान पुगेर बन्धक बनेका घटना सार्वजनिक भएका थिए । मानव तस्करहरूले मुख्यगरी दिल्लीबाट रुस हुँदै स्पेन–बोलिभिया–इक्वेडर–कोलम्बिया–पानामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गरेर अमेरिका छिराउने प्रयास गरेको देखिन्छ ।







