काठमाडौं- अभिनेता सरोज खनालले चलचित्र ‘बगान’बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दिँदै उनले ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरेका छन् ।
चलचित्रमा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहने छ ।
सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर भरेका छन् । रोमान्टिक थिमको गीतको भिडियोमा आकाश र प्रमिला फिचर छन् । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालको भनाइ छ ।
निर्देशक खनालले आफ्नो जीवनकालमा चलचित्रमा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । उनले आफूले निर्देशन गरेको चलचित्रले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
खनालले भने, “मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गौरव गर्न लायक फिल्म चाहिँ बनाएको छु । फिल्म मनोरञ्जनको माध्यम हो । तर, हामीहरू जस्तो मान्छेले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ । फिल्ममा मैले त्यही कोसिस गरेको छु । फिल्म हेरेर हलबाट निस्कँदा एकपटक मान्छेहरू सोच्न बाध्य हुनेछन् ।”
आफू कलाकार भएकाले अरू कलाकारले पनि आफ्नो जस्तै शैलीमा अभिनय गर्दियोस् भन्ने सोच हुने गरेको भए पनि त्यसबाट टाढै बसेर आफूले फिल्म निर्देशन गरेको खनालको भनाइ छ । “कलाकार भएपछि निर्देशक भएर कलाकारलाई एक्सन कट गर्दा आफ्नो ढंगबाट अभिनय गर्दियोस् भन्ने हुँदो रहेछ । तर, मैले पहिलो पटक गरेको काममा त्यो कुरा हाबी नहोस् भन्नेमा सक्दो कोशिस गरेको छु । तथापि, कहिलेकाहिँ कलाकार सरोज खनाल हाबी भइहाल्ने रहेछ,’ निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता अभिनेत्री करिष्मा मानन्धर हुन् । नेपालमा भन्दा पहिला नेपालीको बसोबास रहने विभिन्न देशमा चलचित्र प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।







