काठमाण्डाै – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आर्थिक वर्ष २०७९/८० को बजेटले व्यापार घाटा घटाउन सही दिशा समातेकाे बताउनुभएको छ ।
आज बिहीवार प्रतिनिधि सभाको बैठकमा आउँदाे वर्षकाे बजेटकाे राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताउनुभएको हो । उहाँले बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । उत्पादकत्व बढाउनुपर्ने छ । त्यसैले आयातबाट उत्पादनतर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्य पनि स्पष्ट लिएको छ । यसका लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्याे । स्रोत विनियोजन पनि ठिक छ । उपयुक्त कार्यक्रमहरू छनाेट भएको छ ।’
सांसद थापाले बजेटमा निजी क्षेत्रको संस्थागत मागहरूलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताउनुभयो । बजेटले पेट्रोलियम पदार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिन मानेर निजी क्षेत्रका विभिन्न सङ्घ–संस्थाले दिएको मागहरूको यो पटक यथोचित सम्बोधन भएको छ । अर्थतन्त्रलाई थप चलायमान बनाउने कुराको अपेक्षा गर्न सकिन्छ । पेट्रोलियम पदार्थको निर्भरता घटाउने कुराको सन्दर्भमा जुन लक्ष्य लिनुपर्ने थियो, यसले त्यसलाई पनि समातेकाे छ । यो समयले जे माग गरेको छ, त्यसलाई अर्थमन्त्रीजीले बुझेर ल्याउनुभएको छ, म यसको स्वागत गर्छु ।’







