काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी भएको घोषणा गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा साह विजयी भएको घोषणा गरेका हुन् ।
उनका अनुसार साहले ६१ हजार ७६७ मत ल्याएर विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत प्राप्त गरिन् । यसैगरी नेकपा एमालेका केशव स्थापित ३८ हजार ११७ ल्याएर तेस्रो स्थानमा खुम्चिए ।
उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।
खतिवडाका अनुसार काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेकामा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको थियो । मतगणनाका क्रममा बदर ७ हजार ६८२ मत बदर भएको पनि खतिवडाको भनाइ छ ।
उनले शुक्रबार साढे ८ बजे विजयी मेयर तथा उपमेयरलाई औपचारिक रुपका बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए । काठमाडौंमा वैशाख ३१ देखि मतगणना सुरु भएकामा बिहीबार राति अन्तिम नतिजा सार्वजनिक गरिएको हो । नतिजासँगै दलहरूलाई पछार्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारको उदय भएको छ ।







