काठमाडौं – धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नृपबहादुर वडलाई दोब्बर मतान्तरमा पराजित गरेका हुन् ।
हमालले २६ हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान मेयर वडले १४ हजार ८ सय १७ मत प्राप्त गरे ।
हमालले प्रारम्भिक चरणदेखि नै दोब्बर मतान्तरमा अग्रता लिइरहेका थिए । हमालले उपमहानगरका सबै वडाबाट अग्रता लिएका थिए । हमाल र वड २०७४ को स्थानीय निर्वाचनका पनि प्रतिस्पर्धी थिए । त्यसबेला वडले हमाललाई २ हजार ७ सयको मतान्तरले हराएका थिए ।
यसपटक हमालले वडलाई १२ हजार ४८ मतान्तरमा हराएका हुन् । यस्तै, उपमयेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छन् ।







