काठमाडौं- हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी मीना कुमारी लामा मेयरमा निर्वाचित भएकी हुन् । यसैगरी उपमहानगरको उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनामा लामाले २३०८० मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका अनन्त पौडेलले २०९०८ मत मत प्राप्त गरे । यो जितसँगै लामा बागमती प्रदेशको एकमात्र उपमहानगरको पहिलो महिला मेयरको हुन पुगेकी छन् । त्यस्तै राप्रपाका मेयरका उम्मेदवार दिपक सिंहले २०५३१ मत मात्र प्राप्त गर्दै फेरि पराजित हुन पुगे । सिंह यसअघि भएका संसदीय निर्वाचनमा र उपमहानगरको निर्वाचनमा पनि पराजित भएका थिए ।
त्यस्तै उपमेयर तर्फ नेपाली कांग्रेसका राजेश बानियाँले ३३११४ मत प्राप्त गर्दा नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले २४३२८ मत प्राप्त गरिन् । उता राप्रपाको तर्फबाट उपमेयरको उम्मेदवार इन्दिरा न्यौपानेले ५५९७ मत मात्र प्राप्त गरेर तेस्रो भइन् । उनी २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा पनि पराजित भएकी थिइन् । हेटौंडामा कुल १ लाख ५ हजार ५ सय ७३ मतदाता रहेकोमा ७३ हजार ५ सय १५ मत खसेको थियो ।







