काठमाडौं – नेपाली कांग्रेसले चुनावमा धाँधली भएको भन्ने नेकपा एमालेको आरोप प्रारम्भिक नतिजाले अत्तालिएको अभिव्यक्ति भएको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमवार एक विज्ञप्ति प्रकाशित गरी निर्वाचन सम्बन्धमा गठबन्धनप्रति लगाएको आरोप गतल भएको बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गरेको विज्ञप्तिमा चुनाव गराउने सबैलाई धन्यवाद दिएपनि मतगणनामा नतिजा सोचेजस्तो नआएपछि आरोपमा उत्रिएको कांग्रेसको जिकिर छ ।
‘निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटन पटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाँधली गर्यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो’ महतले भनेका छन् ।
लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहज रुपमा स्वीकार गर्नु पर्ने महतले बताएका छन् ।
यसअघि शनिवार एमालेले विज्ञप्ति प्रकाशति गरी चुनावमा गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका थिए ।









