काठमाडौं – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ मा माओवादी केन्द्रले खाता खोलेको छ ।
मतदान अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडाअध्यक्षमा माओवादीका टेकबहादुर पुनको प्यानल नै विजयी भएको हो । पुनले ५ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।
त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट अग्रता लिएका छन् । उनले ५ सय ४७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार गोरखप्रसाद चन्दले २ सय ८० मत पाएका छन् । सत्तागठबन्धनभित्र चुनावी तालमेल भएपनि यस गाउँपालिकामा एमाले र कांग्रेसबीच तालमेल भएको थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन २ मतको अन्तरले विजयी भएका छन् ।
अघिल्लोपटक एमालेले जितेको यस गाउँपालिकामा कांग्रेसले गठबन्धनको बलमा बाजी मारेको हो ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् ।
कुल १२ सय ४८ मत खसेकोमा लामा ५७३ मत ल्याउँदै विजयी बने। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदावारले ४६३ मत ल्याए ।
रसुवाको आमाछोडिङ्मो गाउँपालिका-१ मा नेकेपा (एमाले)को प्यानल नै विजयी भएको छ। एमालेका साङ्लामा तामाङले दुई सय ९० मत ल्याएर विजयी भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पासाङदे तामाङको पक्षमा दुई सय ४८ मत खसेको थियो।







