बुटवल उपमहानगरपालिमा बिहान ७ बजेसम्म ४०० मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले अग्रता बढाएका छन्।
उनले १७५ मत ल्याउँदा राप्रपाका मृगेन्द्र शेरचन ८८ मत ल्याएका छन्। एमालेका बाबुराम भट्टराई ६३ मतसहित तेस्रोमा छन्। बुटवलमा सत्तारुढ गठबन्धनबीच तालमेल र एमाले एक्लै निर्वाचन लडेको छ।
महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणना शुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि मतगणना शुरु गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए। उनका अनुसार बर्दिबासको १४ ओटा वडामध्ये ८ नम्बर वडाबाट मतगणना शुरु गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिकाको मतगणना शुरु भएको छ। मतगणनाको शुरुमै नेपाली कांग्रेसका बागी मेयर पदका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका छन्।
काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर पदमा एमालेले सुरूवाती अग्रता लिएको छ। शनिबार बिहान दिएको अपडेट अनुसार वडा नम्बर १को मत गन्दा मेयरमा एमालेका उम्मेदवारले ५९ मत पाएको छ।
एकीकृत समाजवादीका उम्मेदवारले ४४, नेकपा माओवादी केन्द्रका उम्मेदवारले २२ र नेपाली कांग्रेसका उम्मेदवारले ६ मत पाएका छन्। राप्रपाले पनि १७ मत पाएको छ।
डडेल्धुराको अमरगढी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । ४०५ मतगणना हुँदा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार डिल्लीराज जोशीले १९० मत प्राप्त गरेका छन् । कांग्रेस (बीपी)का हरिप्रसाद भट्टले १६१ मत प्राप्त गरेका छन् ।
बर्दिबास नगरपालिकामा ४६७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन्।
४६७ मतगणना गर्दा क्षेत्रीले १९०, एमालेका टेकबहादुर बलाम्पाकीको १०३, माओवादी केन्द्रका राजु खड्काको ५४, कांग्रेसका चिरञ्जीवी हमालले ५ मत ल्याएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए। उपमेयरमा एमालेकी उम्मेदवार दुर्गा दाहालले अग्रता लिएकी छन् । माओवादी केन्द्रकी कृष्णमाया गौतमले ४८ मत प्राप्त गरेकी छन्।
झापाको दमक नगरपालिकामा गठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवार थापा पछि परेका हुन ।
राप्रपाका थापालाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् ।
गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर–२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित निर्वाचित भएका हुन् ।
यस्तै, रेसुंगा नगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार खिलध्वज पन्थीले एक हजार ८२९ मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा (एमाले)का उमेदवार राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।
रेसुंगा–३ मा पनि कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम निर्वाचित भए ।
सुनसरीको दुहवीमा ३०० गन्दा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका बेद गच्छदारले १६४ उप मेयर मेनुका खतिवडाले १३३ र एमालेका विनय पोखरेलले ११९ मत ल्याएका छन् ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसको सिंगो प्यानल नै विजयी भएको छ ।
प्राप्त अन्तिम परिणामअनुसार, वडाध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी विजयी भएका छन् । माओवादी केन्द्रका फुलाराम चौधरीलाई पराजित गर्दै जोशी वडाध्यक्षमा निर्वाचित भएका हुन् । विजयी जोशीले ४६४ मत पाउँदा चौधरी ३४१ मतमा रोकिए ।
यो गाउँपालिकाको अन्य वडामा अहिले मतगणना जारी छ ।
सल्यानको कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनको तर्फबाट कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ। यहाँ काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ। सिद्धार्थनगर नगरपालिकाको वडा नं १ को मतगणना अनुसार नेपाली कांग्रेस उम्मेदवार ईस्तीयाक अहमदले ३९१ मत पाएका छन्।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणाले १६५ मतका साथ पछ्याएका छन्। नेकपा एमालेका मेयरका उम्मेदवार डा.राम प्रसाद बस्याले ६२ र जनता समाजबादी पार्टीका उम्मेदवार मातृका यादवले ५३ मत प्राप्त गरेका छन्।







