काठमाडौं- दैलेखको ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ।
दुई पक्षबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको छ।
स्थिति नियन्त्रण बाहिर गएपछि अहिले मतदान स्थगित भएको छ।
महोत्तरीको बलवा नगरपालिकाको वडा नम्बर ५ मा रहेको महावीर मतदान केन्द्रमा झडप भएको छ ।
सर्लाहीको एक मतदानस्थलमा अझै मतदान सुरु हुन सकेको छैन । दुई पक्षबीचको विवादका कारण अझै मतदान सुरु हुन नसकेको हो । धनकौल गाउँपालिकामा मतदान थप्ने विषयमा विवाद भएको थियो ।
मतदान केन्द्र थप्ने विषयमा विवाद भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार राजनीतिक दलका कार्यकर्ताबीच ढुंगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिँन ६ राउण्ड हवाई फायर गरिएको छ । विवाद साम्य पार्न सर्वदलीय बैठक बसेको छ । बैठकले निर्णय गरेपछि मतदान सुरु हुनेछ ।
हुम्लाको चंखेली र अदानचुली गाउँपालिकामा गठबन्धन र स्वतन्त्र उमेदवारबीच झडप भएको छ ।
चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्र र अदानचुली ४ कुकुरफाल्ना जलविद्युत आयोजनाको मतदान केन्द्रमा झडप भएको हो ।
चंखेलीको झडपमा मतदान मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी काला रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिए ।
प्रहरीले झडप नियन्त्रणमा लिन हवाई फायर गरेको छ । केहीबेर रोकिएको मतदान झडप नियन्त्रण पछि सुरु भएको डिएसपी शर्माले बताए ।







