काठमाडौं- गोरखामा एक मतदान केन्द्रमा झडप भएको छ । गण्डकी गाउँपालिका ७ पहेलटारस्थित ज्ञानभूमि मावि मतदान केन्द्रमा झडप भएको हो ।
नेपाली कांग्रेसका कार्यकर्ताले मतदान परिचय पत्र कब्जामा लिएपछि माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेका थिए । दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।
घ्याल्चोक प्रहरी चौकीका प्रहरी निरीक्षक ज्ञानेन्द्र कुमार श्रेष्ठले कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको बताए ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फापर भएको छ । विहान मतदानस्थलमा लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले हवाई फापर खोल्नु परेको ओखलढुङ्गाका प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए ।
दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ र २ मा मतदान स्थगित भएको छ । मतदान केन्द्रमा दुई पक्षले बुथ कब्जा गर्न खोजेपछि मतदान स्थगित गर्नुपरेको हो ।
दोलखा बैतेश्वर गाउँपालिका १ र २ का मतदानस्थलमा कांग्रेस र एमाले दुवै पक्षले बुथ कब्जा गर्न खोजेको बताइएको छ । वडा नम्बर ३ मा भने कांग्रेस र माओवादी केन्द्रबीच झडप भएको हो । उक्त वडानमा चारजना वडाअध्यक्षका उमेदवार छन् ।
रौतहटको गढीमाई नगरपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतदानस्थल भन्दा बाहिर दुई पक्षबीच झडप भएको हो ।
अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप पछि मतदान स्थगित भएको छ ।
मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामकाे बाब्लामा मतदान स्थगित भएको हाे ।
बाब्लामा नेकपा एमाले-माओवादी केन्द्र र कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षतिकाे बारेमा जानकारी प्राप्त भइनसकेको बताए । अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति सिर्जना भएको छ । नेकपा एमाले नेतृ नविना लामाले फेसबुकमा स्ट्याटस लेख्दै त्यहाँ गठबन्धनले मतपेटिका फुटाएको जनाएकी छन् ।
उनले कातिके देउराली वड़ा न ६ मा गठबन्धनले मत पेटिका फ़ुटाएको र एमालेका एक कार्यकर्ता घाइते भएकाे जनाएकी छन् ।
एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि त्यहाँ विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तनावपछि सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको बताइएको छ ।







