काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले देश र जनतालाई पिरोलेको आरोप लगाएका छन् ।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले ती दुई दलले जस्तो जनतालाई नपिरोल्ने बताए ।
ओलीले कांग्रेसलाई मतदान गर्ने धारणा बनाएका मतदातालाई समेत यसपटक नेपालको विकासका लागि र जीवनमा सुख समृद्धि ल्याउन तथा सन्ततिको स्वर्णिम भविष्यका लागि निर्धक्क भएर सूर्यमा मतदान गर्न अपिल गरेका छन् । संविधानको अपब्याख्या गरेर एमालेलाई सत्ता बाहिर लगिएकाले जनादेशबाट जवाफ दिनुपर्ने बताएका छन् ।
“हामी आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्रहरूमा सरकारी, सहकारी र निजी क्षेत्रको लगानी केन्द्रित गर्दछौँ । यी क्षेत्रमा सरकारी, सहकारी र निजी क्षेत्रलाई प्रमुखताका साथ लगानी बढाउन अनुकूल वातावरण बनाउँदछौँ । तीनखम्बे नीतिका आधारमा राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, गतिशील र प्रतिस्पर्धी बनाउनेछौँ । आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा जोड दिन निजी क्षेत्रको विकासलाई प्राथमिकता दिनेछौँ,” ओलीले भने, “म निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा लगानीकर्ता साथीहरूलाई आश्वस्त पार्न चाहन्छु, हामी निजी क्षेत्रका समस्या समाधान गर्नेछौँ । निजी क्षेत्रका अवसरहरूलाई साकार पार्न मार्गप्रशस्त गर्नेछौँ । तपाईंहरूको अभिभावक हुनेछौँ । हामी नेकाँ र माकेले जस्तो देश र जनतालाई पिरोल्दैनौँ, विश्वासघात गर्दैनौँ ।”







