काठमाडौं- सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
“निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई रु २०,००,००० (अक्षरेपी बीस लाख) आर्थिक सहायता उपलब्ध गराउने,” मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।
बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासनभत्ता उपलब्ध गराउने निर्णय समेत गरेको छ ।







