काठमाडौं – नेपाल टेलिकमले आज वैशाख २५ देखि जेठ ४ गतेसम्म निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले शनिबार जारी गरेको विज्ञप्तिमा ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ ।
‘टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध हुनेछ, जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने एसएमएस प्याक पनि ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।’
त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ । यही वैशाख २५ देखि जेठ ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । टेलिकमले निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरूले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा गरेको छ ।







