जनकपुर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् ।
धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेले संसद् चले नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताए । “एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर, अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौँ ।”
अध्यक्ष दाहालले बुवाआमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको उल्लेख गर्दै अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेकाले अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पारे ।
अध्यक्ष दाहालले मधेस र मधेसी जनताले सुखदुःखको साथी माओवादी केन्द्र नै भएको कुरा बुझिसकेको बताए । धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावीसभालाई आज सम्बोधन गर्दै उनले मधेसी जनताकै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बन्न सकेको बताए ।
“मधेसी समुदायले, बुद्धिजीवीले यो परिवर्तनको बाहक र जनताको सुःखदुःखको साथी माओवादी केन्द्र नै हो भन्ने अब सबैतिर नयाँ चेतना र जागरण आएको छ,” उनले भने । उनले भने, “मैले २०७० को निर्वाचन मधेसबाटै लडें, मधेसी जनसमुदायको मत पाएरै निर्वाचित पनि भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेसी जनताको मतकै कारणले भएँ । अब हामी तेस्रो निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौँ, यो निर्वाचनमा मधेसले नयाँ रेकर्ड, नयाँ उदाहरण पेश गर्नुपर्नेछ ।” रासस







