बुटवल – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थाले जथाभावी संसद भंग गर्ने छुट नदिएको बताएका छन् । विपक्षीले विरोध गरेकै झोंकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईदुई पल्ट संसद विघटन गरेको उनको आरोप छ ।
‘विरोध गर्नकै लागि प्रजातन्त्र हो । अरूले प्रतिपक्षले विरोध गरिहाले संसद भंग गरिदिने ?,’ बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद भंग गर्नै पाउँदैन । ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गरेयै गर्ने, उहाँँको पार्टीलाई जिताएर के गर्ने ?’
अहिलेको गठबन्धन प्रजातन्त्रको रक्षाका लागि नै रहेको प्रधानमन्त्री देउवाले दाबी गरे । पार्टीको महाधिवेशनमा पनि आफूले गठबन्धन गरेर देशलाई निकास दिने वचनका साथ मत बटुलेको उनको भनाइ छ ।







