काठमाडौं – सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस गरेको छ ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयको बुधबार बसेको बैठकले वरिष्ठताका आधारमा डीआईजी पौडेललाई एआईजी सिफारिस गरेको हो ।
बढुवा समिति सचिवालयको गत शुक्रबार बसेको बैठकले एआईजीका लागि पदपूर्ति प्रक्रिया अगाडि बढाएको थियो । त्यसबेला सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पुष्पराम केसी थिए । बढुवा समितिको सदस्य सचिवका हैसियतले उनले जारी गरेको सूचनामा आकांक्षीलाई आवश्यक कागजात बुझाउन पाँच दिनको समय दिइएको थियो । सो समय मंगलबार सकिएको थियो ।
एआईजीका लागि पौडेलका अलावा चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल र किशोर प्रधानले पनि आवश्यक कागजात बुझाएका थिए । तर बढुवा समिति सचिवालयले पौडेलको मात्र नाम सिफारिस गरेको हो । यो सिफारिससँगै पौडेललाई हालका महानिरीक्षक राजु अर्यालपछि महानिरीक्षक बन्न बाटो खुलेको छ । सशस्त्र प्रहरीमा स्थापनादेखि नै वरीयतामा पहिलो नम्बरमा रहेका एआईजीलाई आईजीपी बनाउने परम्परा रहिआएको छ ।
सशस्त्र प्रहरीमा दुई जना एआईजी रहने व्यवस्था छ । पौडेलको बढुवा सिफारिससँगै अझै एक पद रिक्त छ ।







