काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताले चुनावी गठबन्धन गरिएको बताएका छन्।
विराटनगरमा आज कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गरेका छन्। ‘गठबन्धन राष्ट्रिय आवश्यकता भइसक्यो,’ उनले भने, ‘गठबन्धनलाई धोका दिनु हुन्न। धोकेबाजको आरोप नआओस्।’
आफू यसपालि नचाहँदा नचाहँदै प्रधानमन्त्री बनेको र गठबन्धनबाट प्रधानमन्त्री बन्न सम्भव भएकोले धोका दिन नहुने देउवाको भनाइ थियो। प्रधानमन्त्री देउवाले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिइने पनि बताए।
‘हामीले ६५ वर्षमाथिकालाई सामाजिक सुरक्षा भत्ता दिने भनेको हो, के गर्ने केपी ओलीजीले मान्नुभएन,’ उनले भने, ‘हामीले जित्यौं भने अब यो लागू हुन्छ।’

उनले स्थानीय सरकारलाई काम गर्न सक्ने गरी सक्षम बनाइनुपर्ने पनि बताए। आफ्नो ठाउँको विकास आफैँ गर्न सक्ने गरी स्थानीय सरकारलाई सक्षम बनाउनुपर्छ,’ उनले भने।
विराटनगर महानगरमा सत्तागठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। उनले कोइराला काम गर्न सक्ने व्यक्ति भएकोले मेयरमा जिताउन पनि आग्रह गरेका थिए।
‘मेयरमा नागेश र उपमेयरमा जसपाको छाता चिन्हलाई भोट हाल्नुहोला,’ देउवाले भने।







