काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको खोजी सुरु गरेको छ । आज बिहान करिब साढे १० बजेको समयमा विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयको ‘ल्यान्डलाइन’ नम्बरमा फोन गरेर एक अपरिचित व्यक्तिले आन्तरिक विमानस्थल कार्यालयमा आठवटा बम रहेको बताएका थिए ।
बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन्। खोजतलासकमा कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए।
‘केही छैन। तै पनि अपरेसन हुँदै छ। भित्र केही देखिएन। कसले र कसरी फोन गरेर बम छ भन्यो? अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले भने।
सो सूचनापछि विमानस्थलमा रहेका करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो ।
नेपाली सेनाले सबै स्थानमा जाँच गर्दा कुनै शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार फोन नेपालभित्रबाटै आएको पाइएको छ । फोन गर्नेको खोजी भइरहेको र फोन आएको समयका सबै नम्बरहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।







