अक्षय तृतीया
काठमाडौं- आज २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेकाे छ ।
वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस पर्वलाई अक्षय तृतीया भनिएको हाे ।
चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ । चार धाममध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।
भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्यकाे अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । लामाे समयपछि मंगल राेहिणी याेगमा अक्षय तृतीया पर्व परेकाे संयाेग जुरेकाे हाे ।
इद–उल–फित्र
इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ । बोलीचालीमा इद भनिने इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी) संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।
यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १)औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ ।







