काठमाडौं – निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानार्षण भएको बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह गरेको छ ।
पाँचदलीय गठबन्धनले आज बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारबाही गर्ने निर्णय गरेसँगै आयोगले विज्ञप्ति निकाली डर तथा धम्की नदिन भनेको हो ।
उम्मेदवारको नामावली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने व्यवस्था रहेको समेत आयोगले विज्ञप्तिमा स्मरण गराएको छ ।
‘त्यसैगरी कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने स्पष्ट भएको हुँदा सो बाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवारलाई संविधान र कानूनको पूर्णपरिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारहरूलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निजहरूको स्वविवेकीय अधिकारको सम्मान गर्न आग्रह गरिएको छ ।
नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७३, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानुनको प्रयोग र पालनामा इमान्दार हुन सबैलाई आयोगले अनुरोध गरेको छ ।
‘राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर तथा आचारसंहिता विपरीत कार्य भएकोले यस्ता कार्य कुनै पनि हालतमा नदोहोर्याउन स्मरण गराउँदै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न समेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।








