काठमाडौं – काठमाडौं उपत्यकामा ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिमाना तिर्न सकिने व्यवस्था सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बंैक लिमिटेडबीच सहकार्यबाट यो प्रविधि जडान गरी जरिमाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमबीच यो सेवा शुभारम्भ गरेको हो । सो सेवा प्रारम्भ भएसँगै जरिमाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताको विस्थापित भएको छ ।
यो सेवा सेवाग्राहीले ट्राफिक कार्यालयको कोठा नम्बर ५ र ६ शाखाको काउन्टरमा राखिएका मनिटरमा ट्राफिक भायोलेसन रेर्कड सिस्टमबाट क्यूआर कोड जेनेरेट गरी मनिटरमा डिसप्ले गरिन्छ र सो क्यूआर कोड डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसनमार्फत स्क्यान गरेर ट्राफिक जरिमाना रकम भुक्तानीपश्चात् तत्कालै आफ्नो कागजपत्र लिन सक्नेछन् ।
यो सेवा हाललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।
यसअघि नै ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिमाना रकम अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू भइसकेको र त्यस प्रणालीलाई थप समयानुकूल र प्रभावकारी बनाउन परिष्कृत गरी यो क्यूआर स्क्यान गरी तिर्न सकिने व्यवस्था सुरु गरिएको हो ।







