काठमाडौं – स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा वैशाख ११ र १२ गते मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ता भएका थिए । आज उमेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।
निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो ।अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका अनुसार दाबी/विरोधको उजुरी दिने दिन आज हो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा को परिच्छेद–४ को १२ र १३ अनुसार निर्धारित योग्यता नपुगेको भए उम्मेदवारी दिएकाविरुद्ध उजुरी दिन सकिन्छ । उजुरी दिने ब्यक्त्ति मतदाता हुनुपर्ने ऐनमा उल्लेख छ ।
उजुरी परे निर्वाचन अधिकृतको कार्यालयले बुधबार र बिहीबार जाँझबुझ गर्नेछ । यसपछि भने उम्मेदवारी दिएकामध्ये योग्य भएकाहरूको मात्र नामावली कार्यालयले सार्वजनिक गर्नेछ ।
वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उमेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उमेदवारको नाम फिर्ता तथा उमेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका भएको निर्वाचन आयोगले जनाएको छ







