काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसमा विराटनगर महानगरपालिका र ललितपुर महानगरपालिकाको मेयरको टिकट विवाद चर्किएको छ । उमेदवारहरूको टुंगो लगाउन शनिबार राति बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा पनि सहमति जुटेन ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयनपत्र दर्ताको कार्यतालिका तोकेको छ तर कांग्रेसमा मेयरको टिकट विवादमा सहमति जुटन सकेन । अहिले बिहान ९ बजे बस्ने गरी कांग्रेस शीर्ष नेताहरूको अनौपचारिक बैठक सकिएको हो । विराटनगर र ललितपुरको मेयरको टिकट विवाद उत्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विराटनगरको मेयरमा अमृत अर्यालको नाम अगाडि सारेका छन् । नेता कृष्णप्रसाद सिटौला देउवाको समर्थन जुटाएर भीम पराजुलीलाई दोहोर्याउने दाउमा छन् । नेता शेखर कोइराला भने नागेश कोइरालाको पक्षमा अडिग छन् ।
ललितपुरमा पनि सहमति जुट्न सकेको छैन । चिरिबाबु दोहोर्याउने पक्षमा संस्थापन समूह छ भने शेखर समूह प्रेमकृष्ण महर्जनको पक्षमा छ ।
नेताहरूबीच अहिलेसम्म काठमाडौं महानगरको मेयरमा कांग्रेस महाधिवेशन प्रतिनिधि एवं नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई उमेदवार बनाउने सहमति भएको छ । भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारीलाई उमेदवार बनाउने सहमति भएको छ ।
दलहरू यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज वा भोलिसम्ममा उमेदवार टुंगो लगाउनैपर्ने दबाबमा छन् ।







