काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ४८ पृष्ठ लामो स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर एमालेले शुक्रवार केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो ।
एमालेको नयाँ पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘सुशासन, समृद्धि र समाजवादको आधार, पालिका-पालिकामा एमालेको सरकार’ भन्ने मूल नारासहित घोषणापत्र सार्वजनिक गरिएको हो ।
नेकपा (एमाले)ले आफ्ना जनप्रतिनिधिहरू शासक नभएर जनताका सेवक भएको जनाएको छ ।
घोषणापत्रमा एमाले नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्ने जिकिर गरिएको छ । यस्तै, जनप्रतिनिधिहरूले कुनै भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने उल्लेख छ ।
“सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस र्यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्नेे ।”घोषणापत्रमा भनिएको छ
यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
एमालेले घोषणापत्रमार्फत स्थानीय स्तरमा ४ हजार ३६२ कि.मि. कालोपत्रे सडक निर्माण भई पक्की सडक सञ्जाल दोब्बरभन्दा बढी विस्तार भएको उल्लेख गरेको छ । ७२५ स्थानीय तहमा सडक पुगेको पनि घोषणापत्रमा लेखिएको छ ।
पाँच वर्षमा तुइन विस्थापन र २ हजारभन्दा बढी झोलुंगे पुल निर्माण गरिएको, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिएको पनि उल्लेख गरिएको छ ।
एकीकृत भन्सार संरचना र सुख्खा बन्दरगाह निर्माण, चोभारमा सुख्खा बन्दगाह निर्माण पनि गरिएको उल्लेख छ । जयनगर–जनकपुर रेलमार्ग निर्माण र सञ्चालन, पूर्व पश्चिम रेलमार्ग निर्माण आरम्भ गर्न सफल भएको पनि उल्लेख गरिएको छ ।
एमालेले पाँच वर्षको अवधिमा प्रत्येक पालिकामा न्यूनतम पाँचदखि १५ शैयाका आधारभूत अस्पताल निर्माण, २०७७ मङ्सिरमा एकैदिन ३९६ पालिकामा अस्पतालको शिलान्यास, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्न सफल भएको पनि उल्लेख गरेको छ ।
प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज निर्माणको कार्यारम्भ, राष्ट्रव्यापी स्वास्थ्य बिमा विस्तार, कोभिड महामारीको प्रभावकारी सामना, आइसोलेशन, क्वारेन्टिन, औषधि र खोपको निःशुल्क प्रबन्ध गरिएको र १८ अर्ब रुपैयाँ बराबरको कोरोना बिमा गराउन सफल भएको पनि उल्लेख छ ।
घोषणापत्रमार्फत एमालेले गएको पाँच वर्षमा मेलम्चीको पानी काठमाडौंमा अवतरण र वितरण गरिएको तथा एक घर एक धाराको अभियान मार्फत एक प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुर्याइएको तथा नेपाल दक्षिण एसियामै पहिलो खु्ला दिसामक्तु राष्ट्र घोषणा हुन सफल भएको उल्लेख गरिएको छ । यस्तै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र लोपोन्मुख्मु समुदायका नागरिकलाई मासिक चार हजार भत्ता प्रदान गर्न पार्टी सफल भएको घोषणापत्रमा उल्लेख छ ।







