काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।
उहाँका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा. टेड्रोसलाई धन्यवाद ज्ञापन गरेका थिए।
उनले डब्लुएचओले नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको ढकालले बताए।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका महानिर्देशक डा. टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा. र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए।
महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आएका छन्। उनीहरू भाेली फर्किने कार्यक्रम छ।







