काठमाडौं केन्द्रमा गठबन्धनको निर्णय पश्चात बिभिन्न महानगर र उपमहानगरमा कांग्रेसभित्र असन्तुष्टिका आवाजहरु सुनिन थालेका छ्न्।
प्रधानमन्त्रीनिवास वालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकले लामो रस्साकस्सीपछि उपमहानगरपालिकामा तालमेलको सहमति भएपछि बिभिन्न जिल्लाहरुबाट बिराेधकाे स्वरहरु सुनिन थालेका हुन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको प्रमुख पद नेपाली कांग्रेसले पाउनुपर्ने अडान नगर कार्यसमितिले राखेको छ । हेटौंडाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि कांग्रेसको नगर कार्यसमितिले बुधवार पत्रकार सम्मेलन गर्दै विरोध जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालले पाउने निर्णय गरेपछि नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कार्यसमितिका सभापति मनोजकुमार साहले जनकपुरधाम जसपालाई भाग लगाएर कांग्रेस सिध्याउने खेल भएको आरोप लगाए ।साहले जसपालाई प्रमुख दिने निर्णय सच्याउन पार्टी नेतृत्वलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।‘निर्णय नसच्याए कठोर कदम चाल्छौं, कांग्रेस सिध्याउन पाइँदैन,’ उनले भने ।
जनकपुर र हेटाैडा जस्तै अन्य महानगर र उपमहानगरमा समेत कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।







