काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ ।पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
बुधबार सार्वजनिक चुनावी घोषणापत्रमा सबै नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बिमा गरिने उल्लेख छ । यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।
आफूहरूले जित्ने पालिकामा हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्यूनतम करको व्यवस्था गरिने राप्रपाले घोषणा गरेको छ ।राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।
यस्तै, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने पनि बताइएको छ ।







